याक्थुङ/लिम्बु भाषा कार्यान्वयनमा समन्वयका लागि छलफल
भाषा आयोग र किरात याक्थुङ चुम्लुङबीच याक्थुङ/लिम्बु र मैथिली भाषाको कार्यान्वयनमा समन्वयका लागि छलफल भएको छ । आयोगका अध्यक्ष डा. गोपाल ठाकुर, सदस्यहरू तथा प्रमुख कर्मचारीहरूसँग चुम्लुङका प्रतिनिधिहरूबीच शुक्रबार काठमाडौंमा छलफल भएको हो ।
सो अवसरमा प्रदेश नं. १ मा याक्थुङ/लिम्बु र मैथिली भाषालाई सरकारी कामकाजको भाषाको रूपमा कार्यान्वयन गर्न आवश्यक समन्वय र तयारीका विषयमा विस्तृत छलफल भएको थियो । चुम्लुङका अध्यक्ष प्रेम येक्तेनलगायत प्रतिनिधिमण्डलले प्रदेश नं. १ को सामाजिक-सांस्कृतिक विविधता र संविधानद्वारा सुनिश्चित भाषिक अधिकारको सन्दर्भमा मातृभाषामा सेवा प्राप्त गर्ने जनताको अधिकार सुनिश्चित गर्न आग्रह गरेका छन् । याक्थुङ (लिम्बु) र मैथिली भाषाको प्रयोग सरकारी कार्यालयहरूमा संस्थागत रूपमा कार्यान्वयन गर्न ठोस कार्ययोजना निर्माणका लागि आयोगसँग सहकार्य आवश्यक रहेको उनीहरूको भनाइ थियो ।
आयोगका अध्यक्ष डा. ठाकुरले संविधानले प्रत्याभूत गरेको भाषिक अधिकारलाई कार्यान्वयनमा लैजान आयोग प्रतिबद्ध रहेको बताउँदै प्रदेशस्तरीय समन्वय र स्थानीय तहसँगको सहकार्यबाट कार्यान्वयन प्रक्रिया अघि बढाउने बताए ।
