‘अरुणपारिको दुर्गम’ जोड्ने सिसुवाखोलाको पक्की पुल उद्घाटन
सिलिचोङको आर्थिक विकासमा सहजता थप्ने अपेक्षा
संखुवासभाको सिलिचोङ गाउँपालिका जोड्ने मोटरेबल पक्की पुलको उद्घाटन भएको छ । जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले पुलको उद्घाटन गरेका हुन् ।
मन्त्री खड्काले सिलिचोङलाई अब सोलुखुम्बुसँग जोड्ने वैकल्पिक नाकाको रूपमा विकास गर्ने बताए । उनले सिलिचोङको बुधबारेमा स्थायी प्रहरी चौकी राख्न पहल भइरहेको पनि जानकारी गराए । निर्वाचनमा गरेको प्रतिबद्धताअनुसार तीनवटै तहको समन्वय र सहकार्यमा पुल निर्माण गरेको उनले बताएका छन् । ‘विकासको काम सम्पन्न गरेर गाउँका आमाबुबा, दाजुभाई तथा दिदीबहिनीको दैनिक यात्रामा सहज बनाउन तथा मुहारमा मुस्कान ल्याउने काममा निरन्तर लागिरहको छु । लागिरहने छु,’ उनले भनेका छन् ।
पुल सञ्चालनमा आएसँगै ‘अरुणपारिको दुर्गम’ भनेर चिनिने सिलिचोङ क्षेत्रमा दैनिक आवतजावतका लागि सहज हुने भएको छ । सिलिचोङको आर्थिक विकासमा समेत पुलले सहजता थप्ने अपेक्षा गरिएको छ ।
पुल निर्माणपछि सदरमुकाम खाँदबारीदेखि सिलिचोङ गाउँपालिकाको केन्द्र ताम्कु आवतजावत गर्न सहज भएको छ । त्यसैगरी, सिलिचोङ गाउँपालिकाको वडा नं. १ र २ जोडिनुका साथै सोही पुल हुँदै अब भोजपुरको साल्पासिलिछो गाउँपालिकासम्म यात्रा गर्न सकिने भएको छ ।
अब उक्त क्षेत्रका कृषि उत्पादन बजारसम्म लैजान सहज हुने भन्दै स्थानीय बासिन्दाले खुशी व्यक्त गरेका छन् । कष्टपूर्ण र जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता हटेको उनीहरुले बताए ।
कुल चार करोड ६५ लाख रुपैयाँ लागतमा पुल निर्माण सम्पन्न भएको हो । यसमा सिलिचोङ गाउँपालिकाको ४० र संघीय सरकारको ६० प्रतिशत लगानी रहेको छ । पुलको लम्बाई ४५ मिटर रहेको छ ।

