‘मादी माविले शिक्षा क्षेत्रमा पुर्‍याएको योगदान अतुलनीय’

प्राकृतिक, सांस्कृतिक एवं शैक्षिक क्षेत्रमा संखुवासभा देशकै अग्रणी

‘मादी माविले शिक्षा क्षेत्रमा पुर्‍याएको योगदान अतुलनीय’

मादी नगरपालिकास्थित मादी माविले स्थापनाको हीरक जयन्ती मनाएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा विद्यालयले हीरक महोत्सव मनाएको हो ।

कार्यक्रममा राष्ट्रपति पौडेलले विद्यालय प्रांगणमा निर्मित हीरक स्तम्भ तथा सरस्वतीको मूर्तिको अनावरण पनि गरे । कार्यक्रममा उनले मादी माविले शिक्षा क्षेत्रमा पुर्‍याएको योगदानको उच्च प्रशंसा गरे । शिक्षालाई समयानुकूल र जीवनोपयोगी बनाउँदै युवा जनशक्तिलाई विदेश पलायनबाट रोक्नु पर्ने उनको भनाई छ ।

राष्ट्रपति पौडेलले संखुवासभा प्राकृतिक, सांस्कृतिक, शैक्षिक लगायतका क्षेत्रमा देशकै नमूना जिल्ला रहेको उल्लेख गर्दै उनले विदुषी योगमाया आयुर्वेद विश्वविद्यालयलाई अगाडि बढाउनुपर्ने धारणा राखे । ‘किमाथांका नाका, अरुण तेस्रो जलविद्युत आयोजना, माथिल्लो अरुण लगायतका आयोजनाहरूको विकास गरेर मुलुकले समृद्धि हासिलमा थप टेवा पुर्‍याउनुपर्छ,’ उनले भने ।

राष्ट्रपति पौडेलले सरकारले सुशासन र सेवा प्रवाहमा मुख्य ध्यान दिनुपर्नेमा जोड दिए । जनताको भाग्य र भविष्यको फैसला आफैँ गर्ने व्यवस्था नै लोकतन्त्र भएकोले यसको कुनै विकल्प नभएको भन्दै राष्ट्रपति पौडेलले राष्ट्रपति पौडेलको भनाइ थियो ।

कार्यक्रममा विशिष्ट अतिथिको रूपमा रहेका संखुवासभाबाट निर्वाचित जनप्रतिनिधि एवं ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री दीपक खड्काले मादी विद्यालयले हीरक महोत्सव मनाउनु र राष्ट्रपतिजस्तो सम्मानित व्यक्तित्वको उपस्थिति हुनु जिल्लाकै गौरवको विषय भएको बताए । उनले शिक्षा क्षेत्रमा संखुवासभा अब्बल जिल्लाको रूपमा स्थापित रहँदै आएको तथा स्रोत र साधनका हिसाबले पनि अत्यन्तै सवल र सम्पन्न जिल्ला भएको बताए ।

मन्त्री खड्काले ऊर्जा क्षेत्रको दृष्टिले संखुवासभामा पाँच हजार मेगावाटभन्दा बढी विद्युत् उत्पादन गर्न सक्ने क्षमता भएकोले सबै एकजुट भएर विकास निर्माणमा लाग्नुपर्नेमा जोड दिए । उनले पर्यटकीय दृष्टिले समेत मकालु हिमाल, अरुण उपत्यका देखि थुप्रै पर्यटकीय स्थान भएकोले यसको विकासमा दलीय राजनीतिभन्दा माथि उठेर काम गर्न आग्रह गरे ।

हीरक महोत्सवको अवसरमा पूर्वप्रधानाध्यापक, शिक्षक, कर्मचारी तथा विद्यालयलाई विभिन्न कालखण्डमा योगदान पुर्‍याउने व्यक्तित्वहरू सम्मानित भए ।

सम्बन्धित खबर