संखुवासभामा पहिलोपटक महिला सीडीओ
संखुवासभाको प्रमुख जिल्ला अधिकारी (सीडीओ)को जिम्मेवारी सहसचिव सिर्जना थपलियाले सम्हालेकी छन् । योसँगै जिल्लाको इतिहासमा उनी पहिलो महिला प्रजिअ बनेकी छन् ।
उनले ४८औं प्रमुख जिल्ला अधिकारीका रूपमा पदभार ग्रहण गरेकी छन् । यसअघि उनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा कार्यरत थिइन् ।
शुक्रबार सञ्चारकर्मीमाझ थपलियाले निजामती सेवामा आफूले हासिल गरेको अनुभवलाई संखुवासभाको उन्नयनमा लगाउने प्रतिवद्धता गरिन् । ‘निर्दिष्ट ऐन, कानुनका परिधिभित्र रहेर जिल्लाका सबै राजनीतिक दलका नेता, बुद्धिजीवी तथा नागरिक समाजलगायत सबैसँगको सहकार्यमा तोकिएका जिम्मेवारी पूरा गर्नेछु,’ उनले भनिन् ।
