जेबी टुहुरे स्मृति पुरस्कारबाट स्रष्टा बम देवान सम्मानित
हरेक वर्ष प्रदान गरिने जेबी टुहुरे स्मृति पुरस्कारबाट यस वर्ष वरिष्ठ गीतकार, कवि तथा संस्कृतिकर्मीद्वय बम देवान र खेम नेपाली सम्मानित भएका छन् । जेबी टुहुरे फाउन्डेसनद्वारा जनगायक जेबी टुहुरेको स्मृतिमा स्थापित उक्त पुरस्कारको राशि एक लाख रुपैयाँ रहेको छ ।
गीतकार देवान ‘छोराहरू हो, छोरीहरू हो, वीर छोराछोरीहरू’लगायत दर्जनौं गीत चर्चित छन् । यो गीत जेबी टुहुरेद्वारा स्वर भरिएको गीत हो । त्यसैगरी गीतकार खेम नेपालीद्वारा रचित ‘के दिउँ, दाइजो चेलीलाई’, ‘पानी चल्दैन रे तर रगत चल्दछ’ जेबी टुहुरेद्वारा गाइएका चर्चित गीतहरू हुन् ।
२००३ सालमा संखुवासभाको आँखीभुईंमा जन्मिएका साहित्यकार देवान पञ्चायकालमा भने दर्शन राईको नामबाट साहित्य सिर्जना गर्दथे । उनको साहित्य लेखन २०२१ सालदेखि सुरु भएको हो । २०४३ देखि २०४७ सालसम्म उनी धरान नगर पञ्चायतको प्रधानपञ्चसमेत भएका थिए ।
शनिबार विराटनगरमा आयोजित कार्यक्रममा नेपाल नाट्य तथा संगीत प्रज्ञा प्रतिष्ठानकी कुलपति निशा शर्मा पोखरेलले श्रष्टाद्वयलाई सम्मान गरेकी हुन् । सम्मान कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता एवं पूर्वमन्त्री हरिबोल गजुरेल, कांग्रेस नेता एवं पूर्वमुख्यमन्त्री केदार कार्की, एमाले नेता विनोद ढकाललगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा राष्ट्रियस्तरका विभिन्न कलाकारले जेबी टुहुरेका गीत गाएका थिए ।
