याक्खा छुम्मा यूकेको वार्षिक भेटघाट कार्यक्रम सम्पन्न

डोकेनी नाच, केई लाकलगायत विविध नृत्य प्रस्तुत

याक्खा छुम्मा यूकेको वार्षिक भेटघाट कार्यक्रम सम्पन्न

किरात याक्खा छुम्मा यूके कमिटीको वार्षिक भेटघाट कार्यक्रम सम्पन्न भएको छ । शनिबार केन्टको आसफोर्डस्थित स्थानीय हलका कार्यक्रम भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि छुम्माका केन्द्रीय अध्यक्ष भूपाल जिमीले संस्थाको विगत र वर्तमान अवस्थाबारे उल्लेख गर्दै भावी कार्ययोजनाबारे पनि जानकारी गराएका थिए । उनले यूकेको व्यस्त जीवनका वाबजूद भव्य कार्यक्रम आयोजना गरेकोमा किरात याक्खा छुम्मा यूकेको सराहना गरे ।

अध्यक्ष जिमीले हामी जहाँ रहे पनि आफ्नो माटो र सभ्यतालाई कहिल्यै भुल्न नहुने कुरामा जोड दिए । ‘पूर्खाहरुले जोगाएर राखिदिएको हाम्रो मौलिक हक-अधिकार हाल राज्यसत्ताबाट दिनानुदिन क्षय गर्ने कार्य भइरहेको छ । यसविरुद्व छुम्मा डटेर लागिरहेको छ,’ उनले भने ।

छुम्मा यूकेका अध्यक्ष बुद्धिराज जिमीले मुख्य गरी याक्खा दाजुभाई-दिदीबहिनीहरुबीच भेटघाट गर्ने उद्देश्यले नै बर्सेनि कार्यक्रम आयोजना गर्ने गरिएको बताए । ‘सालमा एक दिन भए पनि दाजुभाई, छोरीचेली, भानाभाञ्जा, ज्वाईंचेला र साथीभाईहरु भेट गरेर दुखसुखका कुरा साटासाट गर्नका खातिर यो कार्यक्रम गर्दै आएको छौं,’ उनले भने । अध्यक्ष जिमीले समितिका तर्फबाट हालसम्म भए/गरेका गतिविधि र कार्यक्रमका विषयमा पनि जानकारी गराएका थिए ।

कार्यक्रममा धनकुमारी कोम्फे याक्खालाई संस्थाप्रति पुर्‍याएको योगदानको कदर गर्दै सम्मान गरिएको थियो । त्यस्तै विभिन्न विश्वविद्यालयबाट अध्ययन पूरा गर्ने याक्खा परिवारका विद्यार्थीहरुलाई प्रमाणपत्र प्रदान गरिनुका साथै भर्खरै संस्थाको आजीवन र नयाँ सदस्यता लिने सदस्यहरुलाई स्वागत गरिएको थियो ।

कार्यक्रममा याक्खा जातिको सांस्कृतिक नृत्यहरु पनि प्रर्दशन गरिएको थियो । डोकेनी लाक, केई लाक (ढोल नाच)का साथै विभिन्न नृत्यहरु प्रस्तुत गरिएको थियो । सहभागीहरुलाई मौलिक खानपिनको समेत व्यवस्था गरिएको थियो ।

किरात याक्खा छुम्मा यूकेको गठन सन् २००८ मा भएको हो । कमिटीका पूर्वकोषाध्यक्ष शिवचन जिमीका अनुसार यस वर्षको कार्यक्रममा याक्खा छोरीचेलीसहित २ सय बढी सहभागी थिए ।

गत वर्ष भने अगस्ट १० हुने भनिएको बार्षिक भेला युकेमा शान्ति सुरक्षाको अवस्था प्रतिकुल भएको जनाउँदै स्थगित गरिएको थियो ।

सम्बन्धित खबर