छैठौं नरबहादुर-विष्णुमाया श्रेष्ठ स्मृति ब्याडमिन्टन भदौ अन्तिममा
छैठौं नरबहादुर-विष्णुमाया श्रेष्ठ स्मृति जिल्लास्तरीय खुल्ला पुरुष डबल ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । प्रतियोगिता भदौ २७ गतेदेखि संखुवासभा जिल्ला ब्याडमिन्टन संघको आयोजनामा हुने भएको हो ।
संघले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताबारे जानकारी गराएको छ । आयोजकका अनुसार प्रतियोगिताका खेलहरु सोनिनाथ मेमोरियल स्मृति कवर्ड हल खाँदबारीमा सञ्चालन हुनेछन् ।
प्रतियोगितामा जिल्लाका साथै प्रदेश स्तरमा खेलिसकेका खेलाडीहरुले पनि सहभागी हुन पाउनेछन् । प्रदेशस्तरीय प्रतियोगितामा तेश्रो स्थानसम्म हासिल गरेका खेलाडी सहभागी हुन पाउने प्रावधान राखिएको संघका अध्यक्ष सञ्जीवकुमार श्रेष्ठले बताए ।
प्रतियोगितामा प्रथम हुने टिमलाई ३५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । त्यसैगरी द्वितीय हुने टिमले २० हजार रुपैयाँ प्राप्त गर्नेछ भने सेमीफाइनलमा पुग्ने दुई टिम ५/५ हजार नगदद्वारा पुरस्कृत हुनेछन् ।
प्रतियोगिता संयोजक जानकी बल्लभ पोख्रेलका अनुसार प्रतियोगिता सञ्चालन गर्न एक लाख ३३ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । यसमध्ये नरबहादुर-विष्णुमाया श्रेष्ठ स्मृति प्रतिष्ठानले ८० हजार रुपैयाँ उपलब्ध गराउने सम्झौता भएको छ ।
