चुम्लुङको ३७औं स्थापना दिवस : देश-विदेशमा कार्यक्रम

शुभकामना आदानप्रदान, संस्था र समसामयिक परिस्थितिबारे चर्चा

चुम्लुङको ३७औं स्थापना दिवस : देश-विदेशमा कार्यक्रम

किरात याक्थुङ चुम्लुङको ३७औं स्थापना दिवस भदौ १५ देखि १७ गतेसम्म विविध कार्यक्रमसहित मनाइएको छ । दिवसको अवसरमा चुम्लुङको संघीय समितिले ललितपुरको शोभाहिटीस्थित चुम्लुङहिममा मूल समारोह आयोजना गरेको थियो ।

चुम्लुङका संस्थापक अध्यक्ष नन्द कन्दङ्वाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघलगायत विभिन्न जातीय संस्था र राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिहरुका साथै प्रतिनिधिसभा तथा प्रदेशसभाका सदस्यहरु उपस्थित थिए ।

प्रमुख अतिथि कन्दङ्वाले लिम्बु जातिहरुबिच एकता कायम गर्दै भाषा, लिपि, संस्कार, संस्कृति र परम्परालाई समेत एकरुपता दिनलाई चुम्लुङ आजभन्दा ३६ वर्ष अगाडि स्थापना गरिएको बताए । उनले भने, ‘चुम्लुङ आदिवासी जनजातिहरुको छाता संगठनमा याक्थुङहरुको प्रतिनिधित्व गर्ने संस्था हो । विभिन्न हल्लाहरुको पछि नलाग्न आवश्यक छैन ।’ चुम्लुङका संघीय अध्यक्ष प्रेम एक्तेनले पनि चुम्लुङ लिम्बुहरुको साझा संस्था भएकाले विभिन्न हल्लाबाट भ्रमित नहुन अनुरोध गरे ।

चुम्लुङका उपाध्यक्ष डा. कमल तिगेलाले हालसम्म संस्थाले गरेका गतिविधिहरु उल्लेख गर्दै काठमाडौं युनिभर्सिटीमा डिप्लोमा तहमा लिम्बू भाषा पढाइ हुने तयारी भइरहेको जानकारी गराए । उनले लिम्बुवान क्षेत्रमा भएका लिम्बूहरुको माङ्गेन्ना यक संरक्षण तथा किरात सिरिजङ्गा लिपि विवादलाई अन्त्य गर्ने र सिरिजङ्गालाई राष्ट्रिय विभूति घोषणा गर्न सरकारसँग माग गर्ने लगायतका कार्यहरु चुम्लुङले आगामी कार्ययोजनामा रहेको बताए ।

महासचिव निरन्ती तुम्बापोले प्रदेश १ को नाम कोशी खारेजी आन्दोलन, मुक्कुमलुङमा नो केबलकार आन्दोलन, प्रदेश नं. १ मा लिम्बु र मैथिली भाषालाई कामकाजी भाषा बनाउने लगायतका कार्यक्रमहरुमा चुम्लुङ निरन्तर लागिपरेको बताइन् । ‘अहिलेसम्ममा चुम्लुङको नाममा घरजग्गा जोड्दै २५ बढी चुम्लुङ हिमको निर्माण भएको छ । सामुदायिक विद्यालयमा कक्षा ९ सम्मको पाठ्यक्रम निर्माण गरी पठनपाठन भइरहेको छ,’ उनले भनिन् ।

कार्यक्रममा याक्थुङ युवा मञ्चका उपाध्यक्ष सुनिल आङबो, संयुक्त पहिचानवादी मोर्चाका संयोजक डा. महेन्द्र लावती, प्रदेश नं. १ पुनः नामाकरण अभियान समितिका संयोजक डकेन्द्र सिंह थेगिम, नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङ, सांसद एलपी साँवालगायत अतिथिहरुले स्थापना दिवसको शुभकामना दिएका थिए ।

कार्य्रकममा विभिन्न व्यक्तित्व, सञ्चारमाध्यम, विद्यार्थी र साहित्यकारहरुलाई सम्मानित एवं पुरस्कृत गरिएको थियो । चुम्लुङको जिल्ला तथा स्थानीय तह र प्रवास समितिहरुले पनि विभिन्न कार्यक्रम गरेर स्थापना दिवस मनाएका थिए ।

सम्बन्धित खबर