श्रमदान अभियानले सामाजिक कार्यमा उत्साह

स्थानीय युवाहरु र वडाको अगुवाई

श्रमदान अभियानले सामाजिक कार्यमा उत्साह

केही वर्षयता विभिन्ना गाउँटोलमा श्रमदानको लहर चलेको छ । स्थानीय बासिन्दाहरु स्वतस्फूर्त रुपमा श्रमदानका लागि जुट्ने गरेका छन् ।

श्रमदाताहरुले कतै बाटोघाटो मर्मत त कतै गरिब र असहायहरुको घर निर्माण गरिदिएका छन् । यस्ता कार्यले समाजमा सकारात्मक सोच र सहकार्यको अभिवृद्धिसमेत भइरहेको छ ।

धर्मदेवी नगरपालिका वडा नम्बर २, तामाफोकमा पनि विगत साढे पाँच महिनादेखि श्रमदानको अभियान सञ्चालन भइरहेको छ । दैनिक ३० जनासम्म स्थानीय बासिन्दाहरु श्रमदानमा जुट्ने गरेका छन् । यसको अगुवाई स्थानीय युवाहरु र वडाले गरिरहेको छ ।

श्रमदानबाटै सडक सफाई, नाली खन्ने, खाल्डाहरुमा माटो भर्ने, आवश्यक स्थानहरुमा सोलिङ गर्ने काम भइरहेको स्थानीय युवा अजय जिमीले बताए । उनले भने, ‘खासगरी सडक व्यवस्थापनको काममा लागेका छौं । सडक आसपास तीन मिटरभित्रका रुख काट्ने काम भइरहेको छ ।’

उनका अनुसार मूल सडकको काम सकेर शाखा सडक स्याहारसम्भारमा लाग्ने योजना छ । ‘हामी टोल-टोलको गोरेटो बाटो सफाई र मर्मत पनि गर्छौं । यसका साथै कुलोहरु मर्मत, बिजुली लाइन व्यवस्थापन, विद्यालय तथा उपस्वास्थ्य चौकी सरसफाई र पार्क निर्माण गर्ने समेत योजना छ,’ उनले भने ।

श्रमदान अभियानले गाउँमा सामूहिकताको भावना अभिवृद्धि गर्न समेत सहयोग पुगेको वडा अध्यक्ष गजेन्द्र बहादुर जिमीले बताए । उनका अनुसार श्रमदाता गर्ने युवा टोली अन्य गाउँमा समेत गएर श्रमदान गर्ने तयारीमा रहेको छ ।

तामाफोकका स्थानीयवासीहरुले गत चैत पहिलो हप्तादेखि हरेक शनिबार श्रमदान गरिरहेका हुन् । श्रमदानलाई बाह्रै महिना सञ्चालन गर्ने उनीहरुले बताएका छन् । आवश्यकताअनुसार एक वा एकभन्दा बढी टोली बनाएर श्रमदान गर्ने गरिएको छ । गत शनिबार मुख्य टोलीले चामुण्डे उच्च मावि क्षेत्रमा सडक मर्मत गरेको थियो ।

अभियानले गाउँमा सामाजिक कार्यका लागि उत्साहसमेत थपिदिएको छ । ‘एकदमै राम्रो प्रतिक्रिया प्राप्त भएको छ । श्रमदानमा आउन नसक्ने वा नभ्याउनेहरुले खाजा ल्याइदिनुभएको छ । कतिपयले खाजा खानका लागि पैसा पनि दिनु भएको छ,’ जिमीले भने । उनका अनुसार श्रमदाताहरुलाई खाजाको लागि वैदेशिक रोजगारीमा रहेकाहरुले आर्थिक सहयोगसमेत गरेका छन् ।

पुर्खाहरुले श्रमदानबाटै गाउँघरमा विकास निर्माण लगायतका सामाजिक कामहरु गर्ने गरेको स्मरण गर्दै सोही परम्पराको सम्मानस्वरुप श्रमदान अभियान थालेको स्थानीय युवाहरुको भनाई छ ।

सम्बन्धित खबर