‘मायाखोला बचाउ अभियान’मा छुम्माको ऐक्यवद्धता
सरोकार समितिसँग संवाद गर्न निर्माण पक्षलाई आग्रह
‘मायाखोला बचाउ अभियान’मा किरात याक्खा छुम्माले ऐक्यवद्धता जाहेर गरेको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै छुम्माले स्थानीयवासी तथा आदिवासी याक्खा समुदायको सहमतिबिना जलविद्युत आयोजना निर्माण कार्य अगाडि बढाइए हुनसक्ने स्वभाविक विरोधप्रति समर्थन रहने जनाएको हो ।
प्रस्तावित जलविद्युत आयोजना निर्माणस्थल आदिवासी याक्खा जातिको ऐतिहासिक थाकथलोभित्र पर्ने उल्लेख गर्दै छुम्माले ‘आफूहरुसँग कुनै सहमति नलिइकन जलविद्युत आयोजना निर्माण गर्न लागेको भन्दै स्थानीय बासिन्दाहरुले हाल गरिरहेको विरोध’प्रति ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।
स्थानीयवासीहरुलाई पर्याप्त सूचना नै नदिई, स्वतन्त्र मञ्जुरी नलिई उनीहरुको जनजीविका र पर्यावरणसँग प्रत्यक्ष सरोकार राख्ने तथा आदिवासी याक्खा जातिको संस्कार, संस्कृति र आस्थासँग जोडिएको मायाखोलामा जलविद्युत आयोजना निर्माण गर्ने कार्य सर्वथा अस्वीकार्य हुने छुम्माले जानकारी गराएको छ । ‘कथित विकासका नाममा हुने यस्ता कार्यले पर्यावरणमा नकारात्मक प्रभाव पर्न गई स्थानीयवासीलाई पुस्तौंसम्म दूरगामी असर पार्ने निश्चित छ । याक्खा जातिको हकमा त यो मौलिकता र पहिचान समाप्त पार्ने सुरुवात शिवाय अरु केही होइन । मायाखोलासँग याक्खा जातिको सम्बन्ध मुन्थुमदेखि लिएर पुस्तौंपुस्ता अघिबाट कायम छ,’ छुम्माका अध्यक्ष भूपाल जिमीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘तसर्थ, आदिवासी जनजातिहरुको हक अधिकारसम्बन्धी संयुक्त राष्ट्र संघको घोषण पत्र (यूएन ड्रिप) र अन्तर्राष्ट्रिय श्रम संगठनको महासन्धि-१६९ (आइएलओ-१६९)लाई पूर्ण वेवास्ता गर्दै मायाखोलामा जलविद्युत आयोजना निर्माण गर्ने कार्यको किरात याक्खा छुम्मा, केन्द्रीय कार्य समिति घोर विरोध गर्दछ । जलविद्युत निर्माण गर्ने भनिकन थालिएका प्रशासनिक तथा भौतिक कार्यहरु तत्काल खारेज एवं स्थगन गरी स्थानीय सरोकार समितिसँग संवाद अगाडि बढाउन सम्बद्ध पक्षसँग अनुरोध गर्दछौं ।’
संखुवासभाको मादी नगरपालिका र धर्मदेवी नगरपालिकाबीच भएर बग्ने मायाखोलामा जलविद्युत निर्माण गर्न लागिएको चर्चासँगै स्थानीय बासिन्दाहरु सरोकार समिति गठन गरेर विरोधमा उत्रिएका छन् । सो क्षेत्रमा टोलगत छलफल तथा हस्ताक्षर अभियानसमेत सञ्चालन भइरहेको समितिले जनाएको छ । मायाखोलामा वालिङ-तुम्होक हाइड्रोपावर नामक कम्पनीले विद्युत आयोजना निर्माण गर्न लागेको बताइएको छ ।
छुम्माको विज्ञप्ति :

