खेल र संस्कृति एकै ठाउँ, तुमोक खेलमैदानमा ५ दिने उत्सव
गत वर्षकै हाराहारी बजेट, फुटबलमा ८ टोलीबीच प्रतिस्पर्धा
संखुवासभाको धर्मदेवी नगरपालिका–२, तामाफोकमा रहेको मिरमिरे युवा क्लबले उधौली पर्वको अवसरमा बर्सेनि खेल तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्दैआएको छ । यस वर्ष १९औं ‘आमन्त्रित चासुवा गोधुली कप’ फुटबल प्रतियोगिता तथा सांगीतिक साँझ–२०८२ यही मंसिर १८ देखि २२ सम्म तुमोक खेलमैदानमा सञ्चालन हुँदैछ ।
यस वर्ष आयोजकसहित साविक उपविजेता शान्ति युवा क्लब तेल्लोक, नाइन स्टार क्लब मुढेशनिश्चरे, टुटेदेउराली युथ क्लब तेह्रथुम, हाङथुम क्लब मादी, पाञ्चायन क्लब सुनसरी, हिले स्पोर्टिङ क्लब धनकुटा र नेपाल पुलिस क्लब कोशी प्रदेशले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । साविक विजेता अल स्टार क्लब धरानले भने यस वर्ष सहभागिता जनाएको छैन ।
पुरस्कार
चासुवा गोधुली कपको उपाधि विजेताले नगद १ लाख ५० हजार र उपविजेताले ७५ हजार प्राप्त गर्नेछ । सेमिफाइनलमा पराजित दुई टोलीलाई सान्त्वनास्वरुप १० हजार रुपैयाँका दरले प्रदान गरिनेछ । उत्कृष्ट खेलाडी, उदीयमान खेलाडी, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट डिफेन्सलाई जनही २ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । यसका साथै हरेक खेलमा ‘म्यान अफ द म्याच’लाई पनि नगदद्वारा पुरस्कृत गरिनेछ । १९ देखि २१ गतेसम्म दैनिक दुई खेल हुनेछन् । पहिलो खेल ११ र दोश्रो खेले २ बजे हुनेछ । २२ गते दिउँसो १ बजे फाइनल खेल हुने तालिका छ ।
सम्पूर्ण खेल साविकझैं स्थानीय तुमोक खेलमैदानमा हुनेछ । प्रतियोगिताका सम्पूर्ण खेलहरु खेलनेपाल डटकममार्फत प्रत्यक्ष प्रसारण हुने आयोजकले जानकारी गराएको छ ।

सांस्कृतिक कार्यक्रम
उद्घाटन तथा समापन कार्यक्रममा स्थानीय संस्कृतिहरु प्रदर्शन हुने आयोजकले जनाएका छ । सो अवसरमा याक्खा जातिको डोकेनी नाच, ढोल नाच, धान नाच प्रस्तुत हुनेछन् । स्थानीय मौलिक खानाका सटलहरु पनि हुनेछन् । यसका साथै डोरी तान्ने, घैला फुटाउने तथा केही मैत्रीपूर्ण खेलहरु पनि सञ्चालन गर्ने आयोजकको तयारी छ । आयोजकका अनुसार २२ गते ढोल नाच प्रतियोगिता हुनेछ । सोही दिन साँझ राष्ट्रिय कलाकार परेश राई तथा स्थानीय कलाकारहरुको साथमा सांगीतिक कार्यक्रम हुने जनाइएको छ ।
बजेट तथा सहयोग
खेल लगायतका सम्पूर्ण कार्यक्रमका लागि धर्मदेवी नगरपालिका वडा नम्बर २ प्रवर्द्धक रहेको छ भने एन्फा संखुवासभाले सहयोग गरेको छ । आयोजकले किरात याक्खा छुम्मा, तामाफोकसँग सहकार्य गरेको छ ।
सम्पूर्ण खेल कार्यक्रमका लागि गत वर्षकै हाराहारी ८ लाखको बजेट तर्जुमा गरेको आयोजकले जानकारी गराएको छ । यसमध्ये वडा कार्यालयबाट ३ लाख, वैदेशिक सहयोगबाट ३ लाख र स्थानीय संघ-संस्थाहरुबाट २ लाख प्राप्त हुने तथा बाँकी क्लबको आन्तरिक श्रोतबाट खर्च गर्ने आयोजकले जनाएको छ ।

