याक्खा जातिको पर्व ‘चासुवा’सम्बन्धी बृहत छलफल
५ देशबाट सहभागी, मौलिकताको विषयमा चिन्ता प्रकट
याक्खा जातिले मनाउने चासुवा पर्वका विषयमा छलफल तथा विमर्श भएको छ । मंगलबार साँझ सम्पन्न उक्त छलफल याक्सिगुम मिडियाले आयोजना गरेको थियो ।
छलफलमा किरात याक्खा छुम्मा केन्द्रीय समिति, किरात याक्खा छुम्मा बेलायत र हङकङका प्रतिनिधि तथा भारतका संस्कृतिकर्मी लगायतका व्यक्तिहरु सहभागी थिए । यसका साथै मलेसिया र नेपालका विभिन्न स्थानका याक्खाहरुले पनि छलफलमा भाग लिएका थिए ।
कार्यक्रममा चासुवा कसरी मनाइरहेका छौं ? र अब कसरी मनाउनपर्छ भन्ने विषयमा सहभागीहरुले आ-आफ्नो धारणा राखेका थिए । सर्वप्रथम प्राध्यापक टिकाराम लिंखाले चासुवाका विषयमा एक सामग्री प्रस्तुत गरेका थिए । उनले चासुवाको एकरुपता आवश्यक रहेको र यसका लागि किरात याक्खा छुम्माले नेतृत्व लिनुपर्ने बताए । ‘चासुवा लगायतका संस्कार र संस्कृतिका विषयमा खोज-अनुसन्धान जरुरी छ । यस्ता सबै काम गर्न छुम्मा क्रियाशील भएर लागिपर्नु पर्छ,’ उनले भने । पहिले-पहिले चासुवा पूजा मंसिरे पूर्णिमाका दिनमात्र नगरे आसपासका समयमा गर्ने गरिएको उनले बताए ।
छुम्मा यूकेका अध्यक्ष बुद्धिराज जिमीले बेलायतमा कोभिड महामारीपछि चासुवाको अवसरमा हुने भेटघाट अवरुद्ध बनेको बताए । बेलायतमा करिब ८० घरधुरी याक्खाहरुको बसोवास रहेको जानकारी गराउँदै उनले भने, ‘वर्षमा एउटा भेटघाट कार्यक्रम चाहिँ गरिरहेका छौं । चासुवा नै भनेर उधौलीमा पूजाआजा भने हुन सकिरहेको छैन । अब कोसिस गर्छौं ।’
छुम्मा हङकङका अध्यक्ष टीबी याक्खाले छलफलमा सहभागी हुँदै संस्थागत गतिविधिबारे जानकारी गराए । उनले उधौली र उभौलीका अवसरमा हङकङमा छुम्माले कुनै पनि कार्यक्रम नगरेको बताए । भने, ‘हङकङमा हामी तिहारमा देउसीभैलो खेल्ने गरेका छौं । र, हरेक वर्ष अप्रिलमा हाइकिङ जान्छौं । सबैको व्यस्तता कारणले पनि यसबाहेक हामीले अन्य कार्यक्रम गर्न सकिरहेका छैनौं ।’ अध्यक्ष याक्खाका अनुसार हङकङमा ३० देखि ४० घरपरिवार याक्खाहरुको बसोवास रहेको छ ।
भारत, असमका पत्रकार नन्दकुमार देवानले आफूहरुको क्षेत्रमा हालसम्म याक्खा जातिको कुनै पनि संगठन अस्तित्वमा नरहेको जानकारी गराए । पछिल्लो समय सामाजिक सञ्जालमार्फत एकत्रित बनाउने काम भने आफूले गरिरहेको उनले बताए । जनसंख्या कम र टाढा-टाढा बसोवास रहेका कारण याक्खाहरुले मात्र सामूहिक रुपमा चाडपर्व मनाउन असम्भव रहेकाले उधौली-उभौलीजस्ता पर्वहरु या त घर-घरमा आफ्नै किसिमले वा अन्य किरात समुदायसँगै मिसिएर मनाउने चलन रहेको उनले बताए । आगागी दिनमा चासुवाको परिचय स्थापित गर्नेगरी पहल गर्ने पत्रकार देवानले प्रतिवद्धता जनाए । उनले हाल असममा राई र लिम्बु समुदायसँग सहकार्य गरेर साङदाङराङमा सुम्निमा माङहिम निर्माण गरिरहेको पनि जानकारी गराए ।
सिलीगुडीका संस्कृतिकर्मी सतिश कम्फेले माङहाङवा (याक्खा पुरोहित)को अभाव हुँदा परम्परादेखि गरिल्याएको पूजाआजाहरु गर्न कठिन हुँदै गएको उल्लेख गरे । ‘अन्य कामकाजका लागि पनि हामीले नेपालबाटै माङहाङवा झिकाउने गरेका छौं । माङहाङवाका संरक्षण गर्न अत्यन्त जरुरी देख्छु,’ छलफलका क्रममा उनले भने । सिलीगुडीमा यस वर्ष डिसेम्बर १४ मा चासुवा मनाउने तयारी भइरहेको उनले बताए ।
संखुवासभाको धर्मदेवी नगरपालिका होम्बोङका राजनीतिकर्मी मनोज थायुमले भने चासुवा शब्दप्रति नै असहमति जनाए । ‘नयाँ अन्नबाली चढाउने पूजालाई गाउँ-गाउँमा फरक-फरक नामले पुकारिन्छ । यो चासुवा शब्द बजारीकरण गरिएको शब्द हो । यो मौलिक शब्द होइन,’ उनको भनाइ थियो ।
मलेसियाबाट छलफलमा सहभागी साहित्यकार विक्रम याक्खाले मलेसियामा प्रवासी याक्खाहरु रहेको भए पनि हाल छुम्माको कुनै संरचना नरहेको बताए । उनले आफ्नो पुर्ख्याौली थलो पाँचखपनमा चासुवा मनाउने गरिएको शैलीका विषयमा जानकारी गराएका थिए ।
याक्सिगुम मिडियाका सञ्चालक सदस्य अजय जिमीले स्वागत मन्तव्य राख्दै तामाफोकमा चासुवाको अवसरमा बर्सेनि मेला लाग्ने तथा खेलकुदका कार्यक्रमहरु आयोजना हुने गरेको बताए । सामूहिक पूजाआजाका साथै मेलामा आदिवासीजन्य खेलहरुसमेत सञ्चालन हुने गरेको उनले बताए । पाँचथरको तुम्मेवा गाउँपालिकाका मनप्रसाद देवानले पनि स्थानीयस्तरमा यस पर्व मनाउने गरिएको बताए । उक्त भर्चुअल कार्यक्रममा अन्य सहभागीहरुले पनि चासुवा तथा याक्खा जातिसँग सरोकार राख्ने अन्य मौलिक एवं पहिचानका विषयहरुमा जिज्ञासा र आफ्ना धारणाहरु राखेका थिए ।
प्रस्तुत जिज्ञासा र धारणाहरुका विषयमा छुम्माका केन्द्रीय महासचिव सोनम याक्खाले संस्थागत जवाफ दिए । उनले संस्कार र संस्कृति सुधार एवं संरक्षणका लागि प्रयत्न भइरहेको जानकारी गराए । सहभागीहरु आगामी दिनमा पनि याक्खा जातिका अन्य विषयहरुमा छलफल जरुरी रहेको बताए ।
कार्यक्रमको समापन गर्दै याक्सिगुम मिडियाकी अध्यक्ष समिता देवानले धैर्यतापूर्वक छलफलमा सहभागी भएकामा सबैलाई धन्यवाद ज्ञापन गरिन् । उनले आगामी दिनमा याक्खा समुदायका लागि याक्सिगुम मिडियाले गर्ने कामहरुका लागि सबैसँग सहयोगको अपेक्षा राखेको बताइन् ।
