याक्खा गाउँबस्तीमा चासुवा धुमधाम

दशमझिया, पाँचमझिया र पाँचखपनमा विशेष माहोल

याक्खा गाउँबस्तीमा चासुवा धुमधाम

संखुवासभाको मादीमा चासुवा गरिँदै । (फाइल तस्बिर)

मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज पितृको मान र प्रकृतिको सम्मानका रूपमा किराँत समुदायले उधौली पर्व मनाउँदैछन् ।

यसै क्रममा याक्खा गाउँबस्तीहरुमा चासुवाको रमझम सुरु भइसकेको छ । खासगरी याक्खाहरुकाे ऐतिहासिक थाकथलोअन्तर्गतका थुमहरु दशमझिया, पाँचमझिया र पाँचखपनमा चासुवाकाे विशेष माहोल हुनेगर्दछ । ती स्थानमा मौलिक ढंगले पर्व मनाइने भएकाले पनि चासुवाको माहोल छुट्टै हुने गर्दछ ।

किरात समुदायका याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली सकेला र लिम्बूहरूले चासोक तङ्नाम पर्वका नाममा उधौली धुमधामसँग मनाउँदैछन् । लिम्बूहरूले चासोक तङ्नाम पर्व तीन दिनअघि नै मनाउन सुरु गरेका थिए । यो पर्वको पहिलो दिन थियो । आज संयुक्त रूपमा यस समुदायका सबैले उधौली सकेला अर्थात् उधौली पर्व मनाउँछन् ।

किराँत समुदायले आफूले लगाएको अन्नबाली पाकेपछि इष्टदेवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने दिनलाई पर्वका रूपमा मनाउँछन् । बाली लगाउने बेलामा भने किराँत जातिमा यावा अर्थात् उँभौली पर्व मनाइने प्रचलन छ ।

भूमिपूजाका लागि बिहानैदेखि किराँत महिला तथा पुरुषहरू जातीय वेशभूषामा सजिएर च्याब्रुङ बाजाको तालमा धाननाच नाच्दै पर्व मनाउने स्थानमा पुग्छन् । पर्व र रीतिरिवाज एउटै भए पनि आ-आफ्नो भाषाअनुसार पर्वलाई पुकार्ने चलन छ ।

ललितपुरको सानो हात्तीवन किराँतकालदेखिको ऐतिहासिक धार्मिक तीर्थस्थल मानिन्छ । आज त्यहाँ चाड विशेष रूपमा मनाइन्छ । पूजापछि आ-आफ्नो परम्पराअनुसार चण्डीनाच, च्याब्रुङनाच, ढोलनाच लगायतका नाच नाचेर मनोरञ्जन गर्छन् । पर्व मनाउन त्यहाँ भेला भएका किराँतहरूले आफ्नो परम्परागत सांस्कृतिक कार्यक्रम र विभिन्न खेलकुद प्रतियोगिता पनि आयोजना गर्ने परम्परा छ ।

वैशाख शुक्ल पूर्णिमामा उँभौली पूजा गरेका किराँतले आज उधौली पूजा गरेपछि माथिबाट तल झर्ने गर्छन् । जाडोमा तल झर्ने गर्मीमा माथि लेकमा जाने रूपमा पनि उधौली र उँभौली पर्वलाई लिने गरिन्छ ।

उँभौलीमा खेतीपाती राम्रो होस् भनी पूजा गर्ने र उधौलीमा खेतीपाती राम्रो गरेकामा साकेला /भूमे लाई धन्यवाद दिने पर्वका रूपमा मनाउने गरिएको विश्वाससमेत किराँत जातिमा छ । दुवै पर्वलाई किराँत समुदायले भव्य रूपमा मनाउँछन् ।

सम्बन्धित खबर