आधारभूत तहका लागि याक्खा भाषाको पाठ्यक्रम पारित
बोलीचालीमा प्रचलित याक्खा भाषाका आधारमा वर्ण निर्धारण
कक्षा १ देखि ३ सम्मका लागि याक्खा भाषाको पाठ्यक्रम पारित भएको छ । राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषदको बैठकले याक्खासहित ७ भाषाको पाठ्यक्रम पारित गरेको किरात याक्खा छुम्माका उपमहासचिव भरत याक्खाले बताए ।
परिषदको ९७औं बैठक गत मंसिर १७ गते शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री डा. महावीर पुनको प्रमुख आतिथ्य तथा शिक्षा सचिव चुडामणि पौडेल अतिथिमा सम्पन्न भएको थियो । बैठकले अवधि, कुलुङ, थारू, मैथिली, भोजपुरी र तामाङ भाषाको पनि आधारभूत तहका लागि पाठ्यक्रम पारित गरेको छ ।
पारित पाठ्यक्रमका आधारमा पाठ्यपुस्तक तयार गरी शैक्षिक सत्र २०८३/८४ बाट पठनपाठन गर्ने निर्णयसमेत उक्त बैठकले गरेको छ । यससँगै याक्खा समुदायको बसोवास भएको क्षेत्रमा शिक्षा ऐनबमोजिम याक्खा भाषा पठनपाठन हुने भएको छुम्माका उपमहासचिव याक्खाले बताए । उनका अनुसार अब याक्खा भाषा संरक्षण तथा भाषा स्तरीकरणमा समेत सहज हुने छ ।
छुम्माले २०७९ सालको फागुनबाटै पाठ्यक्रम विकास केन्द्रमा याक्खा भाषाको पाठ्यक्रम निर्माणका लागि निवेदन दिएको थियो । पाठ्यक्रम निर्माण गर्न छुम्माका उपमहासचिव याक्खाको संयोजकत्वमा विषय विज्ञ समिति गठन भएको थियो । समितिमा गोमा जिमी, इन्दिरा जिमी, डा. गणेश जिमी, मचिन्द्र याक्खा, रामकुमार लिंखा र प्रा. टिकाराम लिंखा सदस्य थिए ।
स्वीकृत पाठ्यक्रम बोलीचालीमा प्रचलित याक्खा भाषाका आधारमा तयार पारिएको उपमहासचिव याक्खाले बताए । ‘समुदायमा बोलिने आधारमा वर्ण निर्धारण गरेर सोहीबमोजिम पाठ्यक्रम तयार भएको हो । स्वीकृत भइसकेको छ । अब यसैको आधारमा पाठ्यपुस्तक तयार हुन्छ,’ उनले भने ।
कक्षा ८ सम्म मातृभाषा पठनपाठन गराउने सरकारी नीतिअनुसार क्रमानुगत रुपमा थप पाठ्यक्रम निर्माण हुँदै जाने उपमहासचिव याक्खाले बताए ।
