संखुवासभामा १ स्वतन्त्रसहित १६ जनाको उम्मेदवारी
कुल एक लाख १९ हजार ६ सय ३० मतदाता
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि संखुवासभामा एक स्वतन्त्रसहित १६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । अधिकांश सबै अनुहार हुन् ।
एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको संखुवासभामा यसअघि नेपाली कांग्रेस, नेकपा एमाले र तत्कालीन नेकपा माओवादीबीच मुख्य प्रतिस्पर्धा हुने गरेको थियो । यसपटक भने नयाँ दलहरुले समेत कडा चुनौती दिने अनुमान गरिएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार यसपटक नेकपा एमालेबाट अमेरिकाका लागि पूर्वराजदूत तथा हिमालयन आर्युवेद विश्वविद्यालयका अध्यक्षसमेत रहेका डा. अर्जुन कार्कीले मनोनयन दर्ता गराएका छन् । नेपाली कम्युनिष्ट पार्टीबाट पूर्व प्रदेशसभा सदस्य सरिता थापा खड्का, नेपाली कांग्रेसबाट पूर्व जिल्ला सभापति तथा केन्द्रीय सदस्य दिपन कुमार श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट पर्यटन व्यवसायी तथा हिमाल आरोही मिङमा शेर्पा, नेकपा (माओवादी)बाट पुष्पबहादुर कोइराला, श्रम संस्कृति पार्टीबाट उमादेवी राई र राष्ट्रिय परिवर्तन पार्टीबाट घनश्याम राईको मनोनयन दर्ता भएको छ ।
त्यसैगरी, जनता समाजवादी पार्टी नेपालका भरत कुमार याक्खा, नेपाल जनमुक्ति पार्टीका केशरसिं राई, नेपाल मजदुर किसान पार्टीका राजकुमार लघु, मंगोल नेश्नल अर्गनाइजेसनका देवेन्द्र कुमार घले रिल्ली र नेपाली जनसांस्कृतिक पार्टीका कृष्ण बहादुर राईले उम्मेदवारी दर्ता गराएका छन् । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी रनमाया राई चाम्लिङ, राष्ट्रिय प्रजातन्त्र पार्टी पदम बहादुर तामाङ र राष्ट्रिय जनमोर्चा पार्टीका हेमकुमार गुरुङले पनि फागुन २१ का लागि चुनौती पेस गरेका छन् । स्वतन्त्र उम्मेदवारमा बासुदेव दाहाल रहेका छन् । निर्वाचन प्रयोजनार्थ २१ वटा दल दर्ता भएका थिए ।
संखुवासभामा एक लाख १९ हजार ६ सय ३० मतदाता रहेका छन् । यसमध्ये ६२ हजार १ सय ७२ पुरुष र ५७ हजार ४ सय ५८ महिला छन् । प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लामा एक सय नौ मतदानस्थल र एक सय ६४ मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
२०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा संखुवासभाबाट नेपाली कांग्रेसका दिपक खड्का ३२ हजार १ सय ६१ मतसहित विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका राजेन्द्र प्रसाद गौतमले २६ हजार ७ सय २१ मत ल्याएका थिए । तेश्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार भक्त नारायण श्रेष्ठले १ हजार १ सय ३६ मत पाएका थिए भने अन्य ९ दलका उम्मेवारको मत हजारभन्दा कम थियो ।
