‘मझिया स्मृति कप’ महिला फुटबलको पहिलो चरणमा कुन-कुन टोली भिड्दैछन् ?

ललितपुरको सातदोबाटो युथ क्लब र इलामको ओएसिस क्लबबीच पहिलो चरणको अन्तिम खेल

‘मझिया स्मृति कप’ महिला फुटबलको पहिलो चरणमा कुन-कुन टोली भिड्दैछन् ?

संखुवासभाको मादी नगरपालिका-३ मादी मूलखर्कमा हुने प्रथम मझिया स्मृति कप आमन्त्रित महिला फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।

आयोजक मझिया मानबहादुर स्मृति प्रतिष्ठान र सह-आयोजक हाङथुम क्लबले सार्वजनिक गरेको तालिकाअनुसार कात्तिक ८ गते हुने उद्घाटन खेलमा धरान, सुनसरीको रोबाहाङ फेयर फुटबल क्लब र मादी, संखुवासभाको मावादीन युवा समाज विकास केन्द्र प्रतिस्पर्धा गर्नेछन् । दोस्रो खेल कात्तिक ९ गते ओखलढुङ्गाको पद्मा स्पोर्ट्स क्लब र मोरङको बेलबारी फुटबल क्लबबीच हुनेछ।

त्यस्तै १० गते हुने पहिलो चरणको तेस्रो खेलमा तेह्रथुमको फेदाप गाउँपालिका पोक्लावाङ र भेटेटार, धनकुटाको डीवाईसी सागुरीगढी आमने-सामने हुनेछन् । ललितपुरको सातदोबाटो युथ क्लब र इलामको ओएसिस क्लबले पहिलो चरणको अन्तिम खेल खेल्नेछन् । दुवै सेमिफाइनल खेल कात्तिक १२ गते हुनेछ भने फाइनल खेल १३ गतेका लागि तय गरिएको आयोजकले जनाएको छ । प्रतियोगिता नकआउट प्रणालीमा सञ्चालन हुनेछ ।

प्रतियोगिताको विजेता टोलीले उपाधिसहित नगद ३ लाख र उपविजेताले १ लाख ५० हजार प्राप्त गर्नेछन् । त्यस्तै सर्वोत्कृष्ट खेलाडीलाई २१ हजार तथा सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई समान १० हजार रूपैयाँ प्रदान गरिनेछ । समाजसेवी तथा विकासप्रेमी व्यक्तित्व मझिया मानबहादुर जिमीको स्मृतिमा प्रतिष्ठानले प्रतियोगिता आयोजना गर्न लागेको हो ।

महिला फुटबलका प्रतियोगिताहरू तुलनात्मक रूपमा कम आयोजना हुने गरेको सन्दर्भमा मझिया स्मृति कपले महिला फुटबलको क्षेत्रमा योगदान पुग्ने आयोजकको विश्वास रहेको छ । सहभागी टोलीहरूले राष्ट्रिय खेलाडीहरू समेत सम्मिलित गराउने भएकाले प्रतियोगिता आकर्षक हुने अपेक्षा गरिएको छ ।