प्रतिबन्धित क्षेत्रबाट ल्याइएका चार हजार बढी चल्ला नष्ट
प्रतिबन्धित क्षेत्रबाट ल्याइएका चार हजार बढी ब्रोइलर कुखुराका चल्ला नष्ट संखुवासभामा गरिएको छ । बर्ड फ्लु संक्रमित क्षेत्र मोरङबाट ल्याइएका चल्ला नष्ट गरिएको हो ।
कोसी प्रदेशका १४ जिल्लामध्ये झापा, मोरङ र सुनसरीमा बर्ड फ्लुको संक्रमण फैलिएको छ । पशु सेवा विज्ञ केन्द्र, संखुवासभाका प्रमुख हिमालय पोख्रेलका अनुसार चार हजार १०० चल्ला नियन्त्रणमा लिएर नष्ट गरिएको हो । बर्ड फ्लु रोग नियन्त्रण समितिका संयोजक निमित्त प्रमुख जिल्ला अधिकारी घाङरी लामा संयोजकत्वको बैठकले बर्ड फ्लु संक्रमित क्षेत्र मोरङबाट ल्याइएका चल्ला नष्ट गर्ने निर्णय गरेको थियो ।
अनुमतिबिना प्रतिबन्धित क्षेत्रबाट ल्याइएका कारण स्वास्थ्य जोखिमलाई ध्यानमा राख्दै नष्ट गरिएको पशु सेवा विज्ञ केन्द्र प्रमुख पोख्रेलले बताए ।
